काठमाडौं- आज पनि देशका विभिन्न नदीमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानको मापन अनुसार महाकाली र यसका सहायक नदीमा बहाब सतर्कता तह आसपास रहेको छ। कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा छ तथा सबैमा बहाव सतर्कता तह भन्दा तल रहेको महाशाखाले जनाएको छ।
आज नारायणी र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ। कोशी, कर्णाली र महाकाली जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान महाशाखाको छ।
आज कमला, बागमती लगायतमा बहाब सामान्य बढ्ने तर सतर्कता भन्दा तलै हुने छ। कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।
आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, संखुवासभा, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्गजा, नवलपुर लुम्बिनी प्रदेशको परासी, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, दाङ, बाँक, बर्दिया, पाल्पा, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, सुदूरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदी जलाधारमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।