काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमा महाशाखाले तामाकोशी नदीको बहाव धेरै घटेको वा बढेको अवस्था नरहेको जनाएको छ।
शुक्रबार राति जिल्ला प्रसाशन कार्यालय, दोलखाले चिनियाँ क्षेत्रमा पहिरो गई तामाकोशी नदीमा बाढी आउन सक्ने सूचना जारी गरेको भएपनि हालसम्म पानीको बहावमा त्यस्तो अवस्था नदेखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको आसपास बसोबास गर्दै आएकालाई सतर्कता अपनाउन आग्रह गर्दै शुक्रबार राति सूचना जारी गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले विज्ञप्ति जारी गर्दै नेपाल -चीन सीमा क्षेत्रमा रहेको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यस आसपासमा भारी वर्षासँगै पहिरो आउँदा नदिको प्रवाह रोकिएकोले सतर्क रहन आग्रह गरेका हुन्।
कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउनसक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्तीलगायत तामाकोशी नदिको तटिय क्षेत्रमा जोखिम सृजना हुनसक्ने संभावना देखिएको विज्ञप्तिमा उल्लेख छ।
नदी आसपासमा कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउनसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।