काठमाडाैं- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले मेलम्ची बाढीपीडितकाे नाममा चन्दा राहत वा सहयोग संकलन गरे कारबाही गर्ने चेतावनी दिएकाे छ।
शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले एक विज्ञप्ति निकाल्दै अनुमति लिइ वा नलिइ विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरे कारबाही गरिने चेतावनी दिएका हुन्।
'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४(१) (ख) बमोजिम अनुमति लिइ वा नलिइ विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १(ख) मा विपद्को समयमा अप्राकृतिक रुपमा बजारमुल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा वा गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा त्यस्तो कार्य गर्नेलाई कसूरको मात्रा हेरी एक लाख रुपैयासम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने छ,' विज्ञप्तिमा भनिएकाे छ।
यस्ता क्रियाकलाप भएकाे जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमा जानकारी गराइदिन पनि उनले आग्रह गरेका छन्।
सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका १ नाकुत्तेभन्दा करिब ५०० मिटर माथिबाट झरेको पहिरोले मेलम्ची नदीको बहाव थुनिएर बनेको बाँध बनेकाे थियाे। साेही बाँध मंगलबार भत्किए पश्चात आएको बाढीले बगाएका तीन जनाको शव फेला परेको छ। यस्तै, २० जना बेपत्ता छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।