काठमाडौं- सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि तयार पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको उक्त कार्यविधि जेठ ३१ गतेबाट लागू भएको छ।
कार्यविधिअनुसार एसिड आक्रमणमा परेका पीडितको नि:शुल्क उपचार हुनेछ। पीडितले कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन गएमा अनिवार्यरुपमा यथाशीघ्र नि:शुल्क प्राथमिक तथा आकस्मिक उपचार प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राथमिक तथा आकस्मिक उपचारपछि आवश्यकताअनुसार थप उपचारका लागि प्रेषण पुर्जा (रेफर) भरी स्वास्थ्य मन्त्रालयले तोकिएको अस्पतालमा रेफर गर्नुपर्ने हुन्छ।
कार्यविधिअनुसार मन्त्रालयले थप उपचार सेवा प्रदान गर्नका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ। यी अस्पतालले पीडितको उपचार अनिर्वाय रुपमा तुरुन्तै गर्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ।
पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै व्यहोर्नेछ। अस्पताललाई उपचारबापतको सोधभर्ना भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्नेछ।
उक्त कार्यविधिमा एसिड आक्रमणमा परेका पीडितको कस्मेटिक उपचारबाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले आजीवन व्यहोर्ने उल्लेख गरिएको छ।
यस्तै स्वास्थ्य संस्थाहरुले पीडितको उपचार सेवा र बिरामीको अवस्था अनुसार उपयुक्त शय्यामा राखेर गर्नुपर्ने उल्लेख छ।
पीडितहरुले आजीवन लगाउनुपर्ने मल्हम हरेक छ महिनाका लागि डेडिकेटड अस्पतालले नै प्रदान गर्नुपर्ने, पीडित अस्पतालमा रहँदासम्म पीडित र उनका एक जना कुरुवालाई दैनिक खानाका लागि २०० रुपैयाँका दरले प्रतिव्यक्ति प्रतिदिन तीन पटक खुवाउनुपर्ने, रेफर भएर आउँदा एम्बुलेन्सको खर्च पनि पीडितले तिर्न नपर्नेलगायतका व्यवस्था कार्यविधिमा गरिएको छ।
स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदको २०७७ भदौ २९ को आदेशअनुसार उक्त कार्यविधि बनाएको हो।
कार्यविधिको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।