काठमाडाैं- राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ। यही असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने ग्राहकले उक्त छुट सुविधा पाउने बैंकले जानकारी दिएको छ।
विश्वव्यापी रुपमा देखापरेको कोरोबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरेको छ।
'हाल कोभिड रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम् परिस्थितिका कारण कर्जा ग्राहकहरुको व्यावसायिक कारोबार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेका कारण नगद प्रवाहमा प्रतिकूल असर परेको छ,' बैंकद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'यसले गर्दा ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको छ।'
उक्त छुट सुविधाबाट नेपालभरका सातवटै प्रदेशअन्तर्गत २४७ शाखा कार्यालयका एक लाख ८० हजारभन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हूने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।