काठमाडाैं- युरोपियन फुटबल महासंघ (युईएफए) ले युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी दिएको छ।
खेलाडीहरूले मुख्य प्रायोजकको बोतल पत्रकार सम्मेलनका दौरान हटाएपछि युईएफएले जरिवाना गर्ने चेतावनी दिएको हो। गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा चर्चित पेय पदार्थ कोका कोलाको बोतल हटाउँदा यसको असर सेयर बजारमा देखिएको थियो।
हंगेरीविरुद्धको खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्नुअघि ३६ वर्षीय रोनाल्डोले कोकको बोतल हटाएर पानीको बोतल निकालेर ‘एक्का’ भन्दै देखाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कोकले युरोपेली सेयर बजारमा एक दशमलव ६ अंक अर्थात् ४ बिलियन डलर गुमाएको छ।
यसअघि कोकको एक सेयरको मूल्य ५६ दशमलव १० डलरमा किनबेच भएको थियो। उक्त घटनापछि एक दशमलव ६ अंकको गिरावट आएपछि ५५ दशमलव २२ मा कारोबार भएको थियो।
कोकको कूल मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियन डलरमा झरेको हो। यस्तै, मंगलबार फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि बियरको बोतल हटाएका थिए।
जर्मनीविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका पोग्बाले हाइनीकेन बियरको बोतल टेबलबाट हटाएका थिए। बुधबार इटालीका म्यानुयल लोकाटेलीले पनि कोकाकोलाको बोलत हटाएर पानीको बोलत अगाडी राखेका थिए।
‘साझेदारी प्रतियोगिताको अभिन्न अंग भएको सबै टिमलाई स्मरण गराउन चाहान्छौं र साझेदारीले युरोपको फुटबल विकासलाई सुनिश्चिता गर्छ,’ युईएफएले भनेको छ,‘हामी सिधैँ खेलाडीहरूलाई जरिवाना गर्दैनौं, हामी सहभागी राष्ट्रिय संघमार्फत् जरिवाना गर्छौं।’
यता, युरोकपको प्रायोजक कोकले भने प्रतिक्रिया दिँदै सबैको आ-आफ्नो प्राथमिकता हुने बताएको छ।
कोकका प्रवक्ताले युरोकपको पत्रकार सम्मेलनमा खेलाडीलाई पानी र जिरो सुगर भएको कोक दिइने बताए। उनले हरेकको स्वाद र आवश्यकता फरक हुनसक्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।