काठमाडौं- पर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा चर्चित पेय पदार्थ कोका कोलाको बोतल हटाउँदा यसको असर सेयर बजारमा देखिएको छ।
सोमबार हंगेरीविरुद्धकाे खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्नुअघि ३६ वर्षीय रोनाल्डोले कोकको बोतल हटाएर पानीको बोतल निकालेर 'एक्का' भन्दै देखाएका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कोकले युराेपेली सेयर बजारमा एक दशमलव ६ अंक अर्थात् ४ बिलियन डलर गुमाएको छ।
यसअघि कोकको एक सेयरको मूल्य ५६ दशमलव १० डलरमा किनबेच भएको थियो। उक्त घटनापछि एक दशमलव ६ अंकको गिरावट आएपछि ५५ दशमलव २२ मा कारोबार भएको थियो।
कोकको कूल मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियन डलरमा झरेको हो।
कोक युरोकपको प्रायोजक हो। त्यसपछि कोकले प्रतिक्रिया दिँदै सबैको आ-आफ्नो प्राथमिकता हुने बताएको छ।
कोकका प्रवक्ताले युरोकपको पत्रकार सम्मेलनमा खेलाडीलाई पानी र जिरो सुगर भएको कोक दिइने बताए। उनले हरेकको स्वाद र आवश्यकता फरक हुनसक्ने बताएका छन्।
रोनाल्डोले आफ्नो स्वास्थ्यलाई चुस्त राख्न खाने कुरामा विशेष ध्यान दिँदै आएका छन्। उनले 'सुगर फुड' नखाने गरेकाे बताइन्छ।
गतराति सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोली हंगेरीलाई ३-० गाेलले पराजित गरेकाे थियाे। बुढापेस्टस्थित पुस्कास एरेनामा भएकाे खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।
हंगेरीविरुद्ध ३६ वर्षीय रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
दुई गोल गरेसँगै उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले गरेको ९ गोलको कीर्तिमान तोडेका हुन्।
रोनाल्डोले यस अगाडि सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए।
पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन्। यस्तै, उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने।
यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलिसकेका छन्। उनले युरोकपमा सर्वाधिक २३ खेल समेत गरेका छन्। उनले छनोटसहित गरेर सर्वाधिक ४२ गोल गरेका छन्।
यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०६ गोलसहित दोस्रो स्थानमा छन्। इरानका अली दाईको कीर्तिमानभन्दा उनी ४ गोलले मात्र पछि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।