काठमाडाैं- लकडाउनका कारण घरबाहिर निस्कन नपाएका युवाको समय सदुपयोग हुने अपेक्षासहित राष्ट्रिय युवा संघ नेपालले लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले 'म केही गर्छु' शीर्षकमा पाँच मिनेटको लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको हो।
यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रहेर फिल्म बनाउनुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार, दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। सहभागी हुन इच्छुकले असार मसान्तसम्म अर्थात् २५ दिनभित्र इमेलमार्फत स्क्रिप्ट पठाउन सक्ने छन्।
‘प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्ने छन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।