काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु भएको छ। देशका ५ जिल्लामा गरी बाढी तथा पहिरोमा परी बिहीबारसम्म ८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, डोटीमा १ जना र सप्तरीमा १ जना रहेका छन्।
यद्यपि गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रले भने देशका बाजुरा र गोरखामा पनि बाढीले बगाएर केही व्यक्तिको मृत्यु भएको जनाएको छ।
प्रहरीका अनुसार बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना अझै वेपत्ता छन्। वेपत्ता भएकामध्ये १५ जना पुरुष र ५ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ।
बाढी पहिरोमा परी घाइते भएका सिन्धुपाल्चोकका ५ जना, डोटीका २ जना, कास्कीका १ जना, स्याङजाका १ जना र म्याग्दीमा ३ जना गरी जम्मा १२ जना घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ८३ जनाको उद्दार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
पहिरो तथा बाढीको कारण बन्द भएका केही सडकहरु शुचारु गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। वर्षाको कारण सल्यान, बझाङ र दैलेख लगायतका स्थानका सडकमा गएको पहिरो हटाउने कार्य भने जारी रहेको प्रहरीको भनाइ छ।
बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन्। ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जानकारी दिएको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायको मृत्यु भएको छ। अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद्जन्य घटना भएका प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।