सङ्खुवासभा– सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
बा५ख १४० नम्बरको टिपर चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट खस्दा टिपर चालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए।
बुधबार राति १०:०० बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल चिचिला–३ पुखुवामा ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भिरबाट करिब ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो। भिरबाट खस्दा चालक भट्टराईको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी राईले बताए।
त्यस्तै टिपर दुर्घटना परेर सहचालक काभ्रेपलाञ्चोक भकुन्डेबेँसीका २० वर्षीय नवराज श्रेष्ठ गम्भीर घाइते भएको उनले जानकारी दिए। सहचालक श्रेष्ठको टाउको चोट लागेको छ भने बायाँ हात भाँच्चिएको सूचना अधिकारी राईले बताए।
गम्भीर घाइते श्रेष्ठको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।