काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा पुन बाढीको त्रास छाएको छ।
मंगलबार साँझबाट आएको बाढी आज केही कम भएसँगै बजार क्षेत्रका कतिपय घरहरुबाट समान निकाल्ने र सरसफाइको क्रम जारी रहँदा पुनः बाढीको त्रास छाएको हो। इलाका प्रहरी कार्यालय मेलम्चीले बिहीबार दिउँसो माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक(इन्स्पेक्टर) टिकाराम राईले इन्द्रावती नदीमा पानीको बहाब बढ्ने र घट्ने भइरहेको भन्दै जोखिम कायम रहेको बताए। जोखिम कायम रहेकाले माइकिङ गरेर मानिसहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनको भनाइ छ।
पानी पर्न छोडेसँगै मेलम्ची बजारमा उद्धार र राहतका लागि भन्दा हेर्नेहरुको भीड बेढेको उनले बताए।
‘मेलम्चीमा हेर्न आउनेहरु धेरै भए यसले गर्दा सुरक्षाकर्मीलाई उद्धार एवं राहतमा पनि समस्या भएको छ’ उनले भने, ‘बाढी बढ्ने र घट्ने भइरहेको छ यसले गर्दा जोखिम पूर्णरुपमा कम भएको छैन। त्यसैले हामीले मानिसहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका हौं।’
मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका नदी तटीय क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ। मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले मानवीयसहित भौतिक क्षति भएको छ। हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्र कहालीलाग्दो देखिएको छ। मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ।
खेतहरु बगरमा परिणत भएका छन्। कतिपय पुल, रिसोर्ट, ट्राउट सेन्टर, फार्महरुको नामोनिशान छैन। बजार क्षेत्रका घरहरुमा तीन तलासम्म बालुवाले पुरिएका छन्। बालुवा र लेदोका कारण उक्त क्षेत्रमा जान जोखिम रहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।