काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं महानगर परिषदको बैठक बहिष्कार गर्ने भएको छ।
बिहीबार बोलाइएको नगर परिषदको बैठकलाई उपमेयर हरीप्रभा खड्गीसहित १४ वटा वडाअध्यक्षले बहिष्कार गरेका छन्। उपमेयर खड्गीसहित कांग्रेसले जितेका १४ वडाका अध्यक्षहरुको बिहीबार विहान बसेको बैठकले बहिष्कार गर्ने निर्णय लिएको हो।
उपमेयरसहित १४ वटा वडाका अध्यक्षले नगरपरिषद बैठक बहिष्कार गर्ने निर्णय गरिएको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।
कोरोना संक्रमण नियन्त्रणमा ध्यान नदिइकन बजेट आउन लागेकाले बहिष्कार गरेको रिजालले बताए। ‘नगर परिषद बैठकमा एकलौटी गरेको र कार्यसमितिका सदस्यहरुको बैठक नै नराखी नगर परिषद बैठक सिंधै बोलाइएको छ।’ रिजालले भने,‘महानगरको पैसा दोहन गरिएको छ। कोभिड महामारीमा जनता प्रति उत्तरदायित्व लिइएको छैन। नीति तथा कार्यक्रम कोभिड नियन्त्रणमुखी हुनुपर्ने हामीले माग राखेका थियौं। उहाँ (मेयर) ले मान्नुभएन। हामीले बहिष्कार गर्ने निर्णय गर्यौं।’
नागरिकलाई बचाउने ध्यान एमालेका मेयर विद्यासुन्दर शाक्यले नभएको कांग्रेसको आरोप छ। नागरिकको रक्षालाई पहिलो प्राथमिकतामा राख्न कांग्रेसका जनप्रतिनिधिले राखेको प्रस्ताव मेयरले ध्यान नदिएको उनीहरुको भनाई छ। ‘महानगरले पैसा बैंकमा राख्नको लागि हुने तर जनतालाई खोपका लागि नहुने?’ रिजालले प्रश्न गरे,‘खोप किन्न प्रयास गरौं भनी हामीले आफ्नो धारणा राख्यौं। उहाँहरुले मान्नुभएन।’
महानगरको नगरपरिषद बैठक विहान ११ बजे देखि डाकिएपनि मध्यान्ह १२ बजेसम्म सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।