धनगढी– कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सीमानामा पर्ने राष्ट्रिय वनको बीचमा त्रिपालले बेरेर बनाइएको छाप्रो। त्यही पालको छाप्रोमा ४ वर्षीय छोरीलाई जाउलो खुवाइरहेकी छन् रुपा बुढा। कचौराको जाउलो सकिनै लाग्दा उनी चिन्ता मिश्रित भावमा भन्छिन्– 'छोरीले फेरि भोक लाग्यो भनिन् भने के खुवाउने होला?
रुपा बुढाको जस्तै उक्त वनको बीचमा करिब ३ सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन्। चुरे गाउँपालिकाका विभिन्न वडाहरुबाट पहिरोका कारण घरगोठ गुमाएर जंगलमा सरेका उनीहरु सबैको अवस्था अहिले दयनीय छ।
त्रिपालमुनिको बसाइ आफैंमा खतरापूर्ण छ, त्यसैमा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्राबाट बचाउन उस्तै गाह्रो! खानेपानीको समस्या भएकाले नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता छ।
पहिरोले आफ्नो घर खेत बगाएपछि घरबारविहीन भएकाहरू राज्यले आफूहरूलाई नागरिकसरह व्यवहार नगरेको भन्दै गुनासो गरिरहेका छन्।
आफ्ना नागरिकको घर खेत बगाएर उनीहरूको अवस्था दयनीय हुँदा पनि सबैभन्दा नजिकको स्थानीय सरकारले खासै ध्यान नदिएको चुरे गाउँपालिका–६ का रामकुमार बोहराको गुनासो छ। आफूहरू बाध्यताले जङ्गलको बीचमा त्रिपालमुनि बस्नु परेपनि सरोकारवाला निकायले आफूहरूका बारेमा ध्यान नदिएको उनले बताए।
चुरे गाउँपालिका–६ का ६५ वर्षीय खडक बोहरा १५ रोपनी जग्गा र घर पहिरोले बगाएपछि सुकुम्बासी भइ बासस्थानको खोजीमा गाउँका अरूसँगै जंगलमा आए। तर, जंगलमै बस्नुपर्दा धेरै बाँचिदैन कि? भन्ने चिन्ताले सताइरहन्छ उनलाई।
आफ्नी श्रीमतीसँगै जंगलको बास बसिरहेका बोहरा आफूसँग रहेको अन्न सकिएको बताउँछन्। 'कसैले खानका लागि सहयोग नगरे जङ्गलमै भोकै मरिने होला,' उनी भन्छन्।
त्रिपालले बनाएको छाप्रो चुहिरहन्छ। सके त त्रिपाल फेर्नुहुन्थ्यो। तर, चुरे गाउँपालिका–५ की ललिता रोकामगरलाई जंगलको बासमा गास कसरी जुटाउने भन्ने पिर छ। चुलाको छेउमा जंगलबाट टिपेर ल्याएको निगुरो केलाउँदै गरेकी उनले चामल थोरै भएकाले सबैलाई पुगोस् भनेर पानी धेरै हालेर माड जस्तो परिकार बनाउन लागेको बताइन्।
जंगलको बासमा ठूलालाई भन्दा बच्चालाई कसरी गास पुर्याउने भन्ने चिन्ता रहेको उनले सुनाइन्। 'पानी धेरै हालेर माड जस्तै बनाएर अलि धेरै दिन पुग्ने भएकोले बालबच्चाले अलि दिन खान पाउलान् कि?' उनले भनिन्।
पहिरोले घरगोठ बगाएपछि छोराछोरी बोकेर गाउँका मानिससँगै जंगलको बासमा आएको उनले सुनाइन्। 'जबसम्म श्वास रहन्छ तबसम्म आश रहन्छ भन्ने हुँदोरहेछ, त्यसैले यो जङ्गलमा त्रिपालमुनि बालबच्चासँगै गुजारा चलाइरहेका छौं,' उनले भनिन्।
पहिरोका कारण घरगोठ बगाएर विस्थापित भइ जंगलमा बस्दै आएकाहरु आफूहरुको बासस्थानका लागि वैकल्पिक व्यवस्था हुनुपर्ने माग गर्छन्। तर, अहिलेसम्म उनीहरुको माग सुन्ने सरकार उनीहरुले भेटेका छैनन्। – राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।