काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुन:स्थापनाको काम अघि बढाउन अपिल गरेका छन्।
आज सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिएपछि उनले यस्तो अपिल गरेका हुन्। हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसँग विस्तृत जानकारी लिएका थिए।
नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी दिए। मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनुपर्ने बताए। उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकामा भएको सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।