काठमाडाैं- नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन वाइल्ड कार्डमार्फत् जापानमा हुने पाराल्याम्पिक खेलमा छनोट भएकी छन्।
टोकियो पाराल्याम्पिक गेम्स २०२० मा नेपाली राष्ट्रिय पारा तेक्वान्दोका खेलाडी पलेशा (के.४४, ५८ के.जी मुनि) वाइल्ड कार्डमार्फत् छनोट भएकी नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दो महासंघको १३ औं वरियतामा रहेकोले अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था गरेअनुसार पलेशाले वाइल्ड कार्ड पाएकी हुन्।
ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गत २०७८ जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो।
तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपालका खेलाडी छनोट खेलमा सहभागी हुन पाएका थिएनन्।
त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन (के.४४, ५८ के.जी) र रञ्जना धामी (के.४४, ४९ के.जी) को वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो।
पलेशाले सन् २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगितामका (के. ४४, ५८ केजी मुन) को तौल समूहमा पाँचौं स्थान प्राप्त गरेकी थिइन्। त्यहि वर्ष उनले बेलायतमा भएको सातौं विश्व तेक्वान्दो प्रतियोगितामा आफ्नो तौल समूहमा पाँचौ स्थान प्राप्त गरेकी थिइन्।
२०१८ मा भियतनाममा भएको भएको चौथो एसियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा आफ्नो समूहमा कास्य पदक जितेकी थिइन्।
त्यस्तै, २०१९ मा जोर्डनमा भएको पाँचौं एसियन पारा तेक्वान्दो र टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा पाँचौं स्थान प्राप्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।