काठमाडौं– मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षासँगै आएको बाढीले देशका विभिन्न ठाउँमा गरी ४ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा गरी ४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारी अनुसार बाढीले बगाउँदा पाल्पा, कास्की, डोटी र सिन्धुपाल्चोक जिल्लामा १–१ जना गरी ४ जनाको मृत्यु भएको हो। कास्कीमा बाढीले बगाउँदा १ जना महिलाको मृत्यु भएको हो।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा वर्षा र बाढीका कारण १४ जना बेपत्ता भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले बगाउँदा ७ जना बेपत्ता भएका छन्। मेलम्चीको बाढीले बगाएका सातै जनाको पहिचान खुलिसकेको छ।
यस्तै, जाजरकोटमा पनि अविरल वर्षाका कारण ७ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुशे गाउँपालिका–८ को जंगलमा ७ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले गोठालो गएका ७ जना सम्पर्कविहीन भएको जानकारी दिए। 'जंगलमा गोठालो गएका ७ जना सम्पर्कविहीन हुनुभएको छ। उहाँहरु सम्पर्कविहीन भएको क्षेत्रमा भारी वर्षाका कारण सञ्चार सेवा पनि अवरुद्ध छ। खोजीका लागि प्रहरी टोली परिचालन भएको छ,' डीएसपी थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।