काठमाडौं– अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा पानीको सतह बढेको छ।
सिन्धुपाल्चोकको हेलम्बु हुँदै आएको बाढीले इन्द्रावती करिडोरमा ठूलो मानवीय क्षति पुर्याएको आकलन समेत गरिएको छ।
मंगलबारको बाढीले ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको खवर आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। तर, घटनास्थल पुगेर क्षतिबारे यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म बढी प्रभावित भएको जिल्ला प्रहरी डीएसपी सापकोटाको भनाइ छ। हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको उनले जानकारी दिए।
स्थानीयले भने मेलम्ची खानेपानी आयोजनाको बाँध फुटेर बाढी आएको बताएका छन्। तर, प्रहरीले भने बाँध फुटेको यकिन भइनसकेको जनाएको छ।
'बाँध फुटेको हो वा अरु नै कारण हो, यकिन भएको छैन। रातको समय छ, मानवीय क्षतिबारे यकिन हुन सकेको छैन,' डीएसपी सापकोटाले नेपाल लाइभसँग भने, 'नदी किनारका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ। प्रहरीले माइकिङ र फोन मार्फत स्थानीयलाई सुरक्षीत ठाउँमा जान भनेको छ। प्रहरीसँग सेना र सशस्त्र प्रहरी पनि परिचालन भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।