काठमाडौं– सोमबार रातिदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोको प्रकोप शुरु भएको छ।
अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार पहिरोका कारण बझाङ, डोटी, पाल्पा र रुपन्देहीका केही स्थानमा सडक अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरोका कारण बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित कचालीखोला नजिकको सडक अवरुद्ध भएको छ। पहिरो हटाएर अस्थायी रुपमा सडक सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ।
यस्तै, कैलालीको अत्तरीया–डडेल्धुरा भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिकाअन्तर्गत पर्ने गैरामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। उक्त ठाउँमा पनि पहिरो हटाएर यातायात शुचारु गरिएको प्रहरीले जानकारी दिएको छ।
पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनस्थित आर्यभन्ज्याङ-रामपुर पक्की सडक, पाल्पा पूर्वखोला गाउँपालिका-१ बैछापस्थित आर्यभन्ज्याङ-रामपुर पक्की सडक पनि बाढी र पहिरोले अवरुद्ध भएको छ।
यस्तै, रुपन्देही देवदह नगरपालिका-१० चरङगेस्थित बन्दै गरेको पुलको ड्राईभर्सन बगाई सडक अवरोध भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पाल्पा र रुपन्देहीमा पनि सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।