फाइल तस्वीर
काठमाडौं– कोभिड महामारीको त्रासका बीच फेरि मनसुनजन्य विपत्को प्रतिकार्य र व्यवस्थापन अर्को चुनौतीको बन्ने भएको छ। मौसमविद्हरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा धेरै वर्षा हुने बताएका छन्।
मनसुनजन्य प्रकोप तथा विपत्बाट यस वर्ष देशभरका गरी करिब १८ लाख बढी मानिस प्रभावित हुने मौसमविद्हरुले यसअघि नै चेतावनी दिइसकेका छन्। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनीकरणमा सक्रिय सुरक्षा निकायले मनसुनजन्य विपत्को नियन्त्रण र प्रभावितहरुको व्यवस्थापनमा खटिनका लागि तयारी गरिरहेको जनाएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रवक्ताले मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपत् व्यवस्थापनका लागि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन्। पूर्वतयारी, उद्दार, पुन:स्थापना तथा राहतको काममा परिचालन गर्ने आ–आफ्नो संयन्त्रलाई तयारी अवस्थामा राखिएको सेना, प्रहरी र सशस्त्रका प्रवक्ताहरुको भनाइ छ।
विपत्का घटना धेरै घट्ने ठाउँको नक्साङ्कन गर्दै सेना
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालले सेनाले विपत् प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताए। विपत्को घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट १ तिहाइको जनशक्तिलाई विपत् व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्याल
खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने उनले बताए। विपत्जन्य घटनाको प्रतिकार्यका लागि नेपाली सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट भएको उल्लेख गर्दै उनले ती युनिटलाई विपत्को समयमा परिचालन गरिने जानकारी दिए । जलसम्बन्धी उद्दारका लागि २०० वटा वोटहरु तयारी अवस्थामा राखिएको पनि उनले बताए।
विपत्को समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरु ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाई साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताए । विपत् प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपत् व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको पनि उनको भनाइ छ । नेपाली सेनालाई उद्दारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने पनि उनले बताए । साथै सेनालाई कोभिड –१९ विरुद्धको खोपमा पनि जोड दिने उनले बताए ।
हालसम्म नेपाली सेनाका ५० हजार कर्मचारीले खोपको पहिलो मात्रा र २७ हजार कर्मचारीले खोपको दोस्रो मात्रा लगाइसकेको उनले जानकारी दिए।
आवश्यक पर्ने औजार व्यवस्थापन गर्दै प्रहरी
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले विपत्को प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताए। प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर विपत्सम्बन्धी प्रतिकार्य र तयारी अगाडि बढाइसकिएको उनले जानकारी दिए ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवर
विपत्को समयमा प्रहरी संगठन भित्र रहेको साधन, स्रोतलाई अधिकत प्रयोग गर्ने उनले स्पष्ट पारे । प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत् प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताए। स्थानीयस्तरमा सरोकारवाला निकायहरुसँग समन्वय गरिरहेको पनि उनले जानकारी दिए। मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रित गरेको पनि प्रवक्ता कुँवरले बताए।
तालिमप्राप्त जनशक्तिलाई सबै प्रदेशमा खटाउँदै सशस्त्र
सशस्त्र प्रहरी बलले पनि विपत्को प्रतिकार्य गर्न तयारी अवस्थामा रहेको जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पुरा गरिसकेको जानकारी दिए। केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको पनि उनले बताए।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्याल
खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान केको जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरीएको उनले बताए । सशस्त्रमा विपत् व्यवस्थापनको तालिम लिएको जनशक्ति १ हजार ९१८ जना रहेको जानकारी दिँदै डीआईजी अर्यालले तालिमप्राप्त जनशक्तिलाई प्रत्येक प्रदेशमा एक/एक समुह, उपत्यकामा दुईवटा र विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरी १० वटा समुह परिचालन गरिने बताए।
उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, बीओपीस्तर र अन्य बेसहरुमा पनि विपत् व्यवस्थापनको लागि समुह तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
डुवानको अवस्थामा उद्दारका लागि ७० वटा वोटहरु तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउनको लागि १३ वटा हेभी इक्युपमेन्टहरु परिचालन गरिसकिएको उनले बताए। राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण गरिएको पनि डीआईजी अर्यालले जानकारी दिए। न्युज एजेन्सी नेपालको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।