काठमाडौं– जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेको छ। नदीमा पानीको सतह अझै बढ्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा हुनेहरूले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा पानीको सतह खतराको नजिक पुगेको छ। नारायणी नदीमा देबघाट क्षेत्रमा पानीको सतह ८ मिटर पुग्दा खतराको संकेत मानिन्छ।
केही समय अगाडिसम्म देवघाट क्षेत्रमा पानीको सतह ७.६० मिटर पुगेको वाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नारायणी नदीको जलाधार क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलाधार क्षेत्र कास्कीको पोखरा, कुमालगाउँ, विमलनगर, बाग्लुङ लगायत क्षेत्रमा भारी वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुन थप सक्रिय भएकाले देशका केही ठाउँमा ठूलो पानी पर्ने देखिएको छ। महाशाखाका अनुसार भारतको झारखन्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।