काठमाडौं– मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरू भएको छ। मनसुनी वायुका प्रभावले आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो र राति प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यो क्रम बिहीबारसम्म नै कायम रहने महाशाखाद्वारा जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
भारी वर्षाको अनुमानसँगै सतर्कता अपनाउनसमेत महाशाखाले आह्वान गरेको छ।‘देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायतका पानीको सतहबढ्ने हुनाले सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।