फाइल तस्वीर
काठमाडौं- कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि देशका अधिकांश जसो जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौं उपत्यकासहित धेरै जिल्लामा लागू गरिएको निषेधाज्ञा अहिलेपनि कतिपय स्थानमा जारी नै रहेको छ भने केही जिल्लाले हटाएका छन्।
संक्रमितको संख्यामा केही कमी आएपनि जोखिम कायम रहेको स्वास्थ्य मन्त्रालयले जनाइरहेको छ। यसबैबीच केही जिल्लाले आजबाट सकिन लागेको निषेधाज्ञालाई बढाएका छन्। दैलेख, बागलुङ, बैतडी लगायतका जिल्लामा निषेधाज्ञा थप गरिएको हो।
दैलेखमा असार १० सम्म निषेधाज्ञा
जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताए।
यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो। दिनहुँ सङ्क्रमितको सङ्ख्या बढदै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उनले बताए। अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ। दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन्। त्यस्तै बैंक पनि खुला रहनेछन् ।
बागलुङमा पाँचौ पटक निषेधाज्ञा जारी
बागलुङमा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।
निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ।
कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो।
बैतडीमा असार १५ सम्म
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। उनले भने, “सङ्क्रमणदर घट्दो भए पनि जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निर्णय भएको हो, त्यहीअनुसार आदेश जारी हुन्छ।”
थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी/कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गरी बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने छ। साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जनाइएको छ। एन्टिजेन परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत भएको छ। हाल जारी निषेधाज्ञामा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।