काठमाडौं- काभ्रे जिल्लाको एक सरकारी स्कूलमा नेपाली भाषा पढाउने शिक्षक हुन् ज्ञानेन्द्र ओझा। निषेधाज्ञाका कारण स्कूल खुलेको छैन। आफूले पढाउने विद्यार्थी भेट्न नपाउँदा ओझा दुःखी छन्। त्यसैमाथि सरकारी शिक्षकमाथि लगाइएका विभिन्न आरोप-प्रत्यारोपले उनको आत्मबल घटेको छ।
‘महामारीको समयमा सरकारले जस्तोसुकै काममा खटाए पनि खटिन तयार छौं, तर बसीबसी तलब खायो भनेको सुन्दा नरमाइलो लाग्छ,’ उनले भने, ‘काम गरेको छैन, तलब खान्न भन्ने स्थिति पनि छैन। जानेको काम पढाउने हो, तलब आएन भने घरपरिवार कसरी पाल्नु?’
ज्ञानेन्द्रले भनेजस्तै आरोपको चपेटामा परेकी छन्, नुवाकोटकी विज्ञान विषयकी शिक्षिका दीलसरा बराल। ‘सामाजिक सञ्जाल लगायतका प्ल्याटफर्ममा सरकारी शिक्षकले कामै नगरी तलब खायो भन्छन्। निजीले अनलाइनबाट पढायो, सरकारीले केही गरेन, खाएको कसरी पच्ला भनेको समेत देखें,’ दिलसराले थपिन्, ‘सरकारी स्कूलका शिक्षकले अनलाइनबाट पढाउन हरेक विद्यार्थीको हातमा प्रविधि र इन्टरनेट हुनुपर्यो। सरकारी स्कूलको शिक्षकलाई ‘हलो अड्काएर गोरू चुट्ने’ काम गरेजस्तै गरिरहेका छन्।’
धादिङको एक सरकारी विद्यालयकी अंग्रेजी शिक्षिका राममाया थपलिया पनि यसमा सहमति जनाउँछिन्। ‘सरकारी स्कूलका विद्यार्थी लकडाउनकै कारण पढाइमा कमजोर बनिरहेका छन्। यसको जिम्मेवारी शिक्षकले नै लिनुपर्छ तर हामी चाहेर पनि उक्त जिम्मेवारी निभाउन सक्दैनौं,’ उनले भनिन्।
प्रायः सरकारी स्कूलका विद्यार्थी आर्थिक रूपमा कमजोर हुन्छन्। उनीहरू प्रविधिको पहुँचभन्दा बाहिर छन्। यस्तो अवस्थामा अनलाइन कक्षाको कुरा त परै जाओस्, पहिले कक्षाकोठामा पढाएका कुरा पनि भुल्दै गएको उनको भनाइ छ।
‘घरमा नपढेका अभिभावक, जो विद्यार्थीलाई पढाइभन्दा काम गरेको देखेर खुसी हुन्छन्, उनीहरूले पहिले कक्षाकोठामा पढेको पनि भुलिसके,’ उनले भनिन्।
देशभर सरकारी स्कूल पढाउने शिक्षक एक लाख ५० हजारको हाराहारीमा छन्। त्यस्तै ५० हजारको हाराहारीमा सरकारी स्कूलमा काम गर्ने कर्मचारी छन्। जो यतिखेर कामविहीन बनेका छन्। उनीहरू स्कूल पढाउन जाँदैनन् तर तलब भने नियमितरूपमा पाइरहेका छन्।
'प्रविधि भएन भन्ने शिक्षक मूर्ख हुन्'
शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थीलाई पढाउने हैन, सिकाउनुपर्ने बताउँछन्। अहिले घरमा बसीबसी तलब थाप्ने शिक्षकलाई उनी भन्छन्, ‘विद्यार्थी पढाउने हो भने कक्षाकोठा र भौतिक उपस्थितिको आवश्यकता पर्छ, तर सिकाउन यी कुराहरू केही चाहिँदैन।’
शिक्षकले घरमै बसेर फोन, रेडियो, टेलिभिजन या अफलाइन सेन्टरको प्रयोग गरेर विद्यार्थीलाई सिकाउन सक्ने उनको भनाइ छ। ‘विद्यार्थी घरमा छ, भेट्ने माहोल मिलेन त के भयो? फोनबाटै तिम्रो बारीमा के छ? मकैको जुँगा पलाएको छ भने त्यसले के काम गर्छ? जस्ता प्रश्न दिने र खोज्न लगाउने गर्दा उनीहरूले वातावरण बुझ्छन्, विज्ञानका कुरा बुझ्छन्,’ उनले भने।
शिक्षाविद् कोइरालाका अनुसार सरकारी विद्यालयका शिक्षकहरूमा विद्यार्थीलाई सिकाउने कलाको अभाव रहेको छ। उनले भने, ‘यो शिक्षा मन्त्रालयको कूबुद्धि हो।
हरेक सरकारी शिक्षकको विद्यार्थी नपढाउने बहाना प्रविधि बनेको उनको बुझाइ छ। ‘हामीले यस्ता मूर्ख शिक्षकको हातमा छोराछोरी सुम्पिएका छौं कि, उनीहरू प्रविधि भनेर इन्टरनेट र स्मार्ट फोनमात्रै बुझ्छन्,’ कोइरालाले भने, ‘हामी सानो हुँदा प्रयोग गरिएका हातहतियार, कोदालो, ढिकीजाँतो, पानीघट्ट पनि प्रविधि हो भनेर कसले शिक्षकलाई बुझाइदिने? यी विषयवस्तुको बारेमा जानकारी दिने, कसरी बन्छ, काम कसरी गर्छ लगायतका कुरा सिकाउनु पनि प्राविधिक ज्ञान बाँड्नु हो।
यस्ता कुरा सरकारी शिक्षकलाई बुझाउन नसक्नु शिक्षा मन्त्रालय र शिक्षकको हकहितका लागि खोलिएका संगठनको कमजारी रहेको उनको भनाइ छ।
कक्षा कोठामासमेत तह लगाउन मुस्किल पर्ने विद्यार्थीलाई टाढा बसेर सिकाउन सकिएला र? भन्ने प्रश्नमा शिक्षाविद् कोइरालाले भने, ‘मेरो सानो नाति छ, जो मख्ख परेर सासै रोकुँला जसरी मोटुपत्लु हेर्छ। त्यो देखेर मलाई मोटुपत्लु बनाउने मान्छेलाई सलाम गर्न मन लाग्छ।’
चकचके विद्यार्थीको कुरा गर्दा यो भन्दा राम्रो उदाहरण अरू नभएको उनको बुझाइ छ। ‘एक जना मात्रै हैन, सबै बालबालिकाको दिमागमा मोटुपत्लु बस्नसक्छ भने हाम्रा शिक्षकले त्यस्तै सामग्री बनाएर किन नपढाउने?,’ शिक्षाविद् कोइरालाको प्रश्न छ।
साना बालबालिकालाई मोटुपत्लुजस्तै आकर्षक र ज्ञानबर्द्धक पाठ्यसामग्री तयार पार्न उनी सुझाउँछन्। भन्छन्, ‘आफ्ना छोराछोरी निजीमा पढाएको छु, अर्काको छोराछोरी मतलब भएन भनेर समय बिताउन विद्यालय जाने शिक्षकले यस्ता पाठनसामग्री बनाउन सक्दैनन्?’
७७ वटै जिल्लाका शिक्षकलाई आकर्षक पाठ्यसामग्री तयार पार्न लगाउने र त्यसलाई सबै जिल्लामा बाँड्ने हो भने फलदायी हुने कोइरालाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।