काठमाडौं– देशभर मौसम भित्रने क्रम जारी रहेकाले पूर्वी तथा मध्य भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानहरुमा वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैबीच, शुक्रबारबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी चक्र दुई दिन भित्रैै देशभर फैलिने विभागले जनाएको छ।
विभागका प्रवक्ता सुमनकुमार रेग्मीले विज्ञप्ती जारी गर्दै यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले साना तथा सहायक नदीहरुमा आकस्मिक बाढीको सम्भावना बढी भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ।
अघिल्लो वर्ष जेठ ३० गते भित्रिएको मनसुनी चक्र यसवर्ष भने दुई दिन चाँडो र औसत समयअनुसार दुई दिन ढिलो गरी पूर्वनेपालबाट भित्रिएको छ।
२०७७ असोज ३० गते वाहिरिएको मनसुनी चक्र करिव आठ महिनाको अन्तरमा मनसुन भित्रिएको विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा भित्रिने र सेक्टेम्वर २३ मा वाहिरीने औसत समय मानिन्छ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । प्रदेश १, २ र वागमती प्रदेशबाट भित्रिएको मनसुन सक्रिय हुँदा हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म फैलिएको छ।
मनसुन भित्रिएको दुई दिनभित्रै सुदूरपश्चिम नेपालसम्म फैलिने सम्भावना रहेको जनाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।