काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित बीएन्डसी अस्पताललाई कानुनी प्रक्रिया पूरा गरी मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेका छन्। चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा सहभागी निजी मेडिकल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्दिन अन्सारीका अनुसार प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई सम्बन्धनका लागि बीएन्डसीले बुझाएका सबै कागजपत्रहरु एक साताभित्र आफूकहाँ बुझाउन पनि निर्देशन दिएका छन्।
'ऐनको दफा १३ मा उपत्यकाबाहिरका मेडिकल कलेजले सम्बन्धन पाउने कुरा छ। बैठकमा त्यहीअनुसार कुरा भएको थियो,' उनले भने, 'कानुनी प्रक्रिया पूरा गरी कलेज सञ्चालन गर्न अनुमति दिने निर्णय भएको छ। अब सम्बन्धन पाउँछ।'
छलफलमा सहभागी अर्का एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सुरुमै 'आयोगको पहिलो बैठकमा आफूले भनेझैं नेपाललाई मेडिकल शिक्षाको हब बनाउने सपना हो, त्यही अनुसार अजेण्डामा छलफल गरेर सहयोग गरौं' भनेका थिए।
'नेपाललाई मेडिकल शिक्षाको हब बनाउने मेरो सपना हो। त्यही अनुसार अगाडि जानुपर्छ। त्यही अजेण्डाहरुमा छलफल गरेर सहयोग गरौं,' प्रधानमन्त्री ओलीको भनाई उद्दृत गर्दै ती सदस्यले भने।
उनका अनुसार बैठकमा बीएन्डसीलाई सम्बन्धन दिनेसहितका ६ वटा अजेण्डा थिए। अरु अजेण्डा सामान्य थिए। बैठकमा प्रधानमन्त्री ओलीले बीएन्डसीको विषयलाई टुंगोमा पुग्ने गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए। उनले कानुन अनुसार अगाडि बढ्ने र त्यसका लागि कलेजले पठाएका सबै विवरणसहितको प्रतिवेदन सात दिनभित्र बुझाउन निर्देशन दिएको पनि उनले जानकारी दिए।
प्रधानमन्त्रीले आफ्ना भनाई र निर्देशन दिएपछि बैठकबाट बाहिरिएका थिए। त्यसपछि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै प्रक्रिया पुरा गरेको भए सम्बन्धनका लागि ढिलाई गर्न नहुने भनाइ राखेका थिए।
बैठकमा कलेजका विषयमा विवाद आइरहेको, कलेजका लागि आवश्यक कागजपत्र पूरा नभएका, बएन्डसीकै विषयलाई लिएर ८ गोविन्द केसी र उनका समर्थकले विरोध गरिरहेका, ऐनमा भएका व्यवस्था अनुसार मात्र जानुपर्ने लगायतका विषयमा पनि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।