काठमाडौं– कोभिड–१९ का कारण प्रभावित आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ।
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देशन दिएको हो।
मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिए।
परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनेको छ।
नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना बनाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
सीमा नाकासँग जोडिएका जिल्लाले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्न तथा यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ।
परिपत्रमा नेपाल सरकारले तोकेको मापदण्डपालना गरी खोप व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्न भनिएको छ । जिल्लाभित्रको सुरक्षा स्थितिलाई मजबुत बनाई राख्न यस अघि मन्त्रालयबाट भएको निर्णय तथा निर्देशनलाई मध्यनजर गर्दै सुरक्षा समितिको नियमित बैठक राखी प्रभावकारी कार्यान्वयन गर्न र कानून विपरीतको क्रियाकलापमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारवाही गर्न भनिएको छ।
यसअघि नवनियुक्त गृहमन्त्री अधिकारीले गृह प्रशासनको सेवा चुस्त र प्रभावकारी बनाउन, चुस्त प्रशासनको प्रत्याभूति दिलाउन र शान्ति सुरक्षा सबल बनाउन मातहतका निकायलाई निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।