काठमाडौं- स्वास्थ्य क्षेत्रको बेथिति र स्वेच्छाचारिताको विरुद्ध एक जुट भएर प्रतिरोधमा उत्रन बृहत् नागरिक आन्दोलनले सम्पूर्ण स्वास्थ्यकर्मी, पेशाकर्मी एवम् नागरिकमा अपिल जारी गरेको छ।
बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा स्वास्थ्य सेवा जनताको मौलिक हक र राज्यको जिम्मेवारी भएता पनि विद्यमान कोरोना महामारीमा जनताको यो मौलिक हक व्यापक हनन भइरहेको र राज्य आफ्नो जिम्मेवारीबाट च्यूत भइरहेको उल्लेख छ।
आसेपासे मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको विषयमा पनि बृहत् नागरिक आन्दोलनले विरोध जनाएको छ। ‘यो अर्को दुःखद् कुरा हो कि महामारीको भुमरीकै बीचमा हामी स्वेच्छाचारी र अवैधानिक केपी ओली सरकार बेहोर्न बाध्य भैरहेका छौं। संविधान र राजनीतिमा झै यो सरकारले जनस्वास्थ्य जस्तो गम्भिरतम् विषयमा समेत जनविरोधी र प्रतिगामी चरित्र प्रदर्शन गरिरहेको छ। यसै मेसोमा सर्वोच्च अदालतको समेत निर्णय विपरित अहिले आफ्नो आसेपासे मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी यो सरकारले गरिरहेको तथ्य सार्वजनिक भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जनस्वास्थ्यको बजारीकरणलाई एक कदम अगाडि बढाउने क्रियाकलापको नागरिक आन्दोलन घृणापूर्वक भत्सर्ना गर्ने विज्ञप्तिमा उल्लेख छ। ‘लोकतान्त्रिक प्रक्रिया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकार यतिखेर चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा पनि स्वेच्छाचारिताको डण्डा चलाउन लागिपरेको छ। स्वास्थ्य सेवाको मौलिक हकमा घात गर्ने र चिकित्सा शिक्षा एवम् समग्र स्वास्थ्य प्रणालीलाई बजारको जिम्मा लगाउने गैरजिम्मेवार चरित्रका विरुद्ध सशक्त प्रतिकार गर्नु स्वास्थ्यसेवामा सम्बद्ध स्वास्थ्यकर्मी मात्र होइन समग्र नागरिककै जिम्मेवारी हुन पुगेको छ,’ भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।