काठमाडौं– 'सेल्फी विथ डटर' अर्थात् विगत एक महिनादेखि नेपालमा सञ्चालनमा रहेको एउटा अभियान। गत बुधबार एक भर्चुअल कार्यक्रममार्फत यो अभियान सम्पन्न भएको छ। तर, नेपाल र भारत दुवै देशमा संयुक्त रुपमा सम्पन्न यो कार्यक्रमले केही नयाँ परिवर्तनको आभास गराएको छ।
केही वर्षयता सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गरिरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले भारतीय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला सशक्तीकरण तथा लैङ्गिक समानताका निम्ति भनेर 'सेल्फी विथ डटर' कार्यक्रम नेपालमा समेत सञ्चालन गरेको थियो।
नेपालमा सञ्चालित एक महिने अभियानमा हजारौं संख्यामा छोरीसँगका सेल्फी पठाइएकामा प्रतिभा घिसिंग र उनकी छोरी प्रतिस्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ।
यसैगरी दक्षबहादुर राई र मोती सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ। विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार पनि प्रदान गरियो।
भर्चुअल समापन कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिको रुपमा उपस्थित थिए। सिंहले भारतमा सामाजिक चेतना बढाउन 'सेल्फी विथ डटर' अभियानले सकारात्मक प्रभाव पारेको बताए। उनले नेपाल र भारतमा अझै पनि छोरीलाइ हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुँदा त्यसलाई निर्मुल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्ने बताए।
सेल्फी विद डटर अभियानले छोरी र महिलालाई मात्र सामाजिक रुपले मजबुत बनाएको छैन, छोरीहरूको समाजमा सम्मान दिने अभियानले एकखाले आन्दोलनकै रूप लिएको छ।
कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नेपाल जस्तो कम वकसित मुलुकमा अझै पनि छोराछोरीमा भेदभाव रहेको, दाइजो लगायतका सामाजिक कुरीतिले समस्या ल्याएको र सेल्फी विथ डटर अभियान नेपालमा यत्तिको प्रचलित र यत्ति चाँडै चर्चित भएको कुनै पनि अभियान नभएको बताइन्। छिमेकी देश भारतबाट सुरु भएको छोरीहरुप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुत गतिमा अघि बढिरहेको भन्दै उनले 'सेल्फी विथ डटर' जस्तो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुर्याउने उल्लेख गरिन्।
कार्यक्रममा भारत सरकारको इलेक्ट्रोनिक्स तथा आइटी मन्त्रालय अन्तर्गतको राष्ट्रिय इगभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहले भारतमा प्रविधि र प्रविधि सम्वन्धि यस्ता अभियानले सामाजिक जीवनशैली सुधार्न र भेदभाव हटाउन सहयोग गरेको बताए।
भारतका सुनिल जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ। नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैङ्गिक समानताको हिसावले हेर्न र सोही किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।