काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलासका न्यायाधीशका विषयमा अब प्रश्न नउठाउन चेतावनी दिएका छन्।
उनले अब यही इजलास निरन्तर हुने र यसैले मुद्दाको सुनुवाइ गर्ने भन्दै कानुन व्यवासायीलाई यस्तो चेतावनी दिएका हुन्। बेन्च गठन सम्बन्धी कुनै पनि प्रश्न हुनु नहुने उनले बताए।
'यो नै फाइनल हो। अबदेखि यो विषय उठान हुँदैन। हामीसँग भन्नुपर्ने कुरा धेरै छन्। हामी चारजना एउटै डुंगामा सवार छौँ। अब थप कुरा नउठाउनुस्। आधा घण्टामा बहस सक्काउनुस्।अस्तिको कुरा हाम्रो नोटिसमा छ। इजलासमा उठेका प्रश्नहरूको उत्तर दिइन्छ। तर, कहिलेकाहीँ मौनरुपमा पनि उत्तर दिइन्छ', उनले भने।
उनले संविधानत: प्रधानन्यायाधीशको विकल्प नरहेको बताए। बाँकी न्यायाधीश एउटै डुंगामा रहेका अब अगाडि बढ्ने बताए। 'यो विवादको सिलसिलामा धेरै वटा अनुभव प्राप्त भएको छ। धेरै किसिमका अनुभव छन्। नयाँ अनुभव पाएका छाैं', उनले भने, 'हामीलाई भगाउने कोसिस कतैबाट नहोस्। समय जति तोकिएको छ त्यति नै हुन्छ। आधा घण्टा भनेको आधा घण्टा नै हो। कम समयमा सके राम्रो।'
यसअघि रिट निवेदकका तर्फबाट इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठेको थियो। इजलास गठनमा विवाद भएपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले अलग हुने घोषणा गरेका थिए। उनीहरूले वरिष्ठताका आधारमा गठन हुने इजलासमा भने बस्ने बताएका थिए। त्यसपछि उक्त इजलासबाट न्यायाधीश केसी र श्रेष्ठलाई बाहिर राख्दै प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ इजलास गठन गरेका थिए। जसमा न्यायाधीश कार्की र भट्टराई पनि अटाए।
आइतबारको इजलासमा सरकारी पक्षले रोस्टरमा रहेका ११ जनै न्यायाधीशले सुनुवाइ गर्न नमिल्ने तर्क गरकाे थिए। उनीहरूले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईका विषयमा पनि प्रश्न उठाएका थिए। तर, सर्वाेच्च अदालतले सरकारी पक्षको बहसलाई मान्यता दिएन।
अब यही इजलासले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।