काठमाडौं- काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेर फालिएको अवस्थामा शव फेला परेको छ।
मंगलबार विहान बोराबाट बाहिर खुट्टा निस्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको खबर पाएलग्तै नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं परिसरको टोली घटनास्थलमा पुगेको थियो। तालिमप्राप्त कुकुर ल्याएर स्नाफिङ गराएपछि बोरा खोलिएको थियो। तर बोरामा शवको खुट्टा र घुडाको भाग मात्रै भेटिएको काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

घटनास्थलमा शवको केही भागमात्र फेला परेपछि अन्यत्र हत्या गरेर जलाइएको र बाँकी रहेको भाग त्यहाँ ल्याएर फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।
करिब दुई साता अघि हत्या गरिएको हुनसक्ने आशंका प्रहरीको छ। खुट्टा र घुडाको भाग मात्र फेला परेकाले शव महिला वा पुरुष कसको हो भन्ने नछुटिएको एसएसपी सिंहले बताए। शव पुरानो भएकाले कुकुरलेसमेत केही भेउ पाउन नसकेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।