दार्चुला– पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका ६ वटा पानीको मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ।
जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोग भइरहेको पानी र जिल्ला सदरमुकाम खलंगामा उपभोग भइरहेको पानीको नमूना परीक्षणका लागि धनगढी लगिएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय दार्चुलाका सव–डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिए।
क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट (रसायन शास्त्री) कृष्ण पौडेलले परीक्षणका लागि सोमबार जिल्लाका ६ वटा पानी मुहानबाट पानीको नमूना लगिएको बताए। चमेलियाको पानी कुणी र कुष्काडाका बासिन्दाका लागी लिफ्ट प्रणालीबाट बस्तीमा पुर्याइने हुँदा उक्त पानी परीक्षण गरिन लागेको उनले बताए।
पनेबाजमा रहेको पानी फोहर भएका कारण परीक्षणका लागि पानी प्रयोगशालामा लगिएको हो। सो ठाउँमा रहेको पानी मुहानबाट रातो रङको पानी आउने गरेको स्थानीयले बताएका छन्। यस्तै, अन्य ठाउँमा रहेका मुहानको पानीमा जैविक, रासायनिक र भौतिक प्रदूषणको मात्रा कति छ भन्नेबारे परीक्षण गरिने क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट कृष्ण पौडेलले जानकारी दिए।
परीक्षणका लागि जिल्लाबाट लगिएका ६ वटा मुहानको पानीमा प्रदूषणको मात्रा बढी देखिए उक्त ठाउँमा पानी प्रशोधन केन्द्र स्थापना गरी पानीलाई शुद्धीकरण गरिने सव–डिभिजन प्रमुख रावलले स्पष्ट पारे।
जिल्लाबाट परीक्षणका लागि लगिएको पानी ४८ घण्टापछि परीक्षण हुने पानी प्रयोगशाला धनगढीका केमिष्ट पौडेलले जानकारी दिए।
जिल्लामा अहिले ९२ प्रतिशत धरधुरीले मात्रै धाराको पानी प्रयोग गरिरहेका छन्। जिल्लाका सबै घरधुरीमा शुद्ध पानी पुर्याउने उद्देश्यले यस आर्थिक वर्षमा विभिन्न ठाउँमा गरी ६ करोड ५४ लाख ४९ हजार रुपैयाँ लागतमा ८७ वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय, दार्चुलाका सव–डिभिजन प्रमुख रावलले जानकारी दिए।
हाल जिल्लाका ८ प्रतिशत नागरिक कुवा, खोला तथा तलाउको पानी पिउन बाध्य छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।