काठमाडौं– सभामुख कृष्णबहादुर महराले महिनावारी हुनुलाई अशुद्ध वा अछूतका रुपमा विभेद गरिनु सामाजिक अपराध भएको बताएका छन्।
पहिलो पटक नेपालमा सरकारी स्तरबाट मनाइएको राष्ट्रिय मर्यादित महिनावारी दिवसको उद्घाटन गर्दै सभामुख महराले भने, ‘महिनावारी स्वभाविक शारीरिक प्रक्रिया हो, महिलाका लागि यो विशिष्ट अवस्था हो।’
राजधानीमा आयोजित कार्यक्रममा सभामुख महराले यो बेला महिलाको स्वास्थ्य र सरसफाइको उचित हेरचाह गर्नुपर्ने बताए।
कानुनी हिसाबले सबैखाले विभेदलाई सामाजिक अपराधका रुपमा राज्यले नै घोषणा गरिसकेको भन्दै सभामुख महराले हरेक नागरिकलाई यसबारे जागरुक बनाउन जनचेतना फैलाउनुपर्नेमा जोड दिए।
सरकारी तहबाट पहिलोपटक खानेपानी, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका मन्त्रालयको संयुक्त आयोजनामा ‘अब अति भयो, महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।