काठमाडौं- ‘नेपाली चलचित्रमा महिला र किशोरीहरूको प्रतिनिधित्व’ शीर्षकमा हालै गरिएको एक अध्ययनले चलचित्रमा देखाइने महिलाको रूढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ।
नेपाली चलचित्रमा महिला वा किशोरीहरूलाई विरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिला पात्रलाई पुरुषको उपभोग वा वस्तु स्वरूपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ।
अध्ययनका अनुसार मुलतः महिला वा किशोरीहरूलाई नेतृत्वको भूमिकामा देखाइए पनि पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रूपमामात्र प्रस्तुत भएको पाइएको छ।
प्लान इन्टरनेसनल नेपालको ‘गर्ल्स गेट इक्वेल’ अभियानअन्तर्गत उक्त अध्ययन गरिएको थियो। डक स्कूलले गरेको अनुसन्धानमा ४७ वटा चलचित्र, टेलिभिजन, अनलाइन सामग्रीमा भएका विषयवस्तु र विज्ञापन-चलचित्रको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको छ।
साथै, विभिन्न चलचित्रकर्मी, चलचित्र निर्माता र कलाकारहरूसँगको अन्तर्वार्ता र छलफलबाट अध्ययनको तथ्यांक विश्लेषण गरिएको छ। अध्ययनले चलचित्रका दर्शकहरूसँग पनि समूहगत छलफल आयोजना गरेको थियो। प्रदेश १ को सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरूसँग चलचित्रमा महिला प्रतिनिधित्वसम्बन्धी तीन चरणको छलफल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।