काठमाडाैं- मानवअधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवस (५ जुन) को अवसरमा छ जिल्लामा वृक्षरोपण गरेको छ।
रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा शनिबार बिहान आँप, रुद्राक्ष, अमला, वेल, धुपीसल्लो, कल्पिफूल लगायतका १०० भन्दा बढी संख्यामा वृक्षरोपण गरिएको समाजले जानकारी दिएको छ।
समाजका सभापति गोविन्द खनालले समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय बचाऊ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गरे। हालै सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमार्फत् चुरे ध्वस्त गर्ने गरी ढुंगा, गिटी निकासी खुला गर्ने निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने उनले बताए।
वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभूमीकरण हुने खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सभापति खनालले सरकारको उक्त कदमलाई 'वातावरण प्रतिगमन'को संज्ञा दिए।
वृक्षरोपण कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र वश्याल, पत्रकार महासंघ प्रदेश महासचिव विक्रम खड्कालगायतको सहभागिता थियो।
यसैगरी काठमाडाैंको गोठाटार, दाङको तुलसीपुर, पर्साको विरगञ्ज, कपिलवस्तु, चितवनलगायत जिल्लामा पनि शनिबार वृक्षरोपण गरिएको समाजले जानकारी दिएको छ।
सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।