टोकियो- टोकियो ओलम्पिक २०२० की अध्यक्ष सेइको हाशिमोतोले प्रतियोगिता हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताएकी छिन्।
बीबीसीसँगको कुराकानीमा उनले कोरोनाको संक्रमण निरन्तर फैलिरहेको अवस्थामा भने यो प्रतियोगिता दर्शकबिना नै आयोजना हुन सक्ने बताइन्।
‘हाम्रो सामू सबैभन्दा ठूलो चुनौती यो छ कि कसरी मानिसको संख्या नियन्त्रण गर्ने रु यदि प्रतियोगिता जारी रहेकै समयमा महामारी अनियन्त्रित भयो भने मलाई लाग्छ कि प्रतियोगिता दर्शक बिना नै गर्नुपर्ने हुन्छ। तर, म पूर्ण विश्वस्त छु प्रतियोगिता हुन्छ र यो हामी गर्नेछौं,’ उनले भनिन्।
विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता शुरु हुन अब ५० दिन मात्रै बाँकी छ। ओलम्पिक २३ जुलाईमा शुरु हुँदैछ। तर, प्रतियोगिताको मुखमा जापानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसकारण प्रतियोगिता हुनेर नहुनेमा अहिल्यै यकिन गर्न गाह्रो छ।
शुक्रबार जापानी सरकारले टोकियो र आठ अन्य प्रान्तहरूमा २० जुनसम्म आपत्कालिन अवस्था घोषणा गरेको छ। हाशिमोतोले बीबीसीका संवाददाता लउरा स्कटलाई अहिलेको सबैभन्दा ठूलो प्रश्न भनेको सुरक्षित वातावरणमा खेलहरू कसरी गर्ने भन्ने रहेको बताइन्।
‘अहिले धेरै जापानीले असुरक्षित महसुस गरिरहेका छन्। हामी यस्तो समयमा ओलम्पिकको बारेमा कुरा गरिरहेकाले उनीहरू सायद हामीदेखि दुःखी छन्।
टोकियोमा गत वर्ष ओलम्पिक खेल हुने तय थियो तर कोरोना महामारीको कारण अन्तिम समयमा खेल स्थगित भएको थियो ।
जुलाईबाट शुरु हुने ओलम्पिकमा सहभागिता जनाउन अष्ट्रेलियाबाट गलबार खेलाडीसहित ३० जनाको सफ्टबलका टाेली जापान पुगिसकेका छन्। ओलम्पिकका लागि बिदेशबाट आउने यो पहिलो टिम हो।
विमानस्थलमा कोरोना परीक्षण गरेपछि उनीहरुलाई ओता शहरमा लगिएको थियो। बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति कोरोनाविरुद्धको खोप अनिवार्य लगाएका हुनुपर्नेछ।
साथै उनीहरूको हरेक दिन कोरोना परीक्षण गरिने छ । संक्रमण रोकथाम गर्न र अन्य व्यक्तिसँगको सम्पर्क रोक्न विदेशबाट आउने ओलम्पिक र पारालिम्पिकका टिमसहितका खेलाडी र व्यक्तिलाई तोकिएको बसोबास स्थलमा राखिनेछ। खेलाडीले टिमकै लागि तयार पारिएको सवारी साधनहरू मात्रै प्रयोग गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।