काठमाडौं– कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल शाहले भिडियो सन्देश जारी गरेका छन्।
कोरोना संक्रमणपछि लामो समय अस्पताल बसेका पूर्व राजा–रानीले एक भिडियो जारी गर्दै आफूहरुको स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
पूर्व राजा शाहाले वाचन गरेको लिखित सन्देशमा महामारीको समयमा दिनरात आफ्नो दायित्व र मानवीय कार्यगर्ने सबै अग्रपंक्तिमा खटिएकाहरुलाई अन्तरमनदेखि धन्यवाद व्यक्त गरेको जनाएका छन्।
अहिले आफूहरु पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको भन्दै उनले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्तित रहेको बताएका छन्। ‘अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं। देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं। महामारकिो प्रकृया जारी छ यसलाई नियन्त्रण गर्नलाई आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ’ उनले भनेका छन्, ‘ प्राप्त अन्तर्राष्टिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छु।’
पूर्व राजा शाहले सबैलाई कोरोनाबाट सुरक्षित, सावधान रहन आग्रह गरेका छन्। उपचारका क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले जीवन गुमाउनेहरुको आत्माको चीर शान्तीको कामना गरेका छन्।
यस्तो छ सन्देश
हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं। यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं। अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं। महामारीको प्रक्रिया जारी छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ। प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहन्छु। म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दछु। उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीको क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु। श्री पशुपतिनाथले ती सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।