काठमाडाैं- संवैधानिक इजलास विवाद निरुपण नभएपछि इजलास नै बहिष्कार गर्नेसम्मको तयारीमा अघि बढेका सर्वोच्च अदालतका १० जना वरिष्ठ न्यायाधीशहरुले यसका लागि मंगलबारसम्म पर्खने निष्कर्श निकालेका छन्।
सोमबार सर्वोच्च अदालतमै भएको छलफलपछि यस्तो निष्कर्श निकालेको एक न्यायाधीशले बताए।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासका न्यायाधीशलाई लिएर रिट निवेदकतर्फका कानून व्यवसायीले गम्भीर प्रश्न उठाएपछि त्यसले सर्वोच्चमै हलचल ल्याएको छ। कानुन व्यवसायीहरुले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्व वमकुमार श्रेष्ठ र तेजबहादुर केसी यो मुद्दाको सुनुवाईमा संलग्न हुन नमिल्ने जिकिर गर्दै आएका छन्।
प्रश्न उठेका न्यायाधीशहरु इजलास छाड्न तयार नभएपछि र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि यसको निकास नदिएको भन्दै वरिष्ठ न्यायाधीशहरुले अब इजलासमा नबस्नेसम्मको निर्णय लिनुपर्ने बेला आएको भन्दै सोमबार छलफल गरेका थिए।
सर्वोच्चको संवैधानिक इजलासका लागि १४ जना न्यायाधीश रोस्टरमा हुने भए पनि एकजनाले अवकाश पाएकाले १३ जना छन्। तीमध्ये १० जनाले यस्तो छलफल अघि बढाएका थिए।
संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईसगै न्यायाधीशहरु हरिकृष्ण कार्की, मिरा ढुङ्गाना, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानबीच सोमबार छलफल भएको थियो। छलफलपछि एक न्यायाधीशले कुनै निर्णय नभएको र निर्णय गर्ने इजलासमा प्रश्न उठेका दुई न्यायाधीशले भएको प्रतिक्रिया दिए। उनले यसका लागि मंगलबारसम्म पर्खने निष्कर्श निकालिएको बताए।
प्रश्न उठेका दुई न्यायाधीशले आफूहरु उक्त इजलासमा बस्न मिल्ने बारेमा आदेश लेखेर संवैधानिक इजलाशका सदस्यहरुलार्इ वुझाएका छन्। उनीहरुले ऋषि कट्टेलको मुद्दा नितान्त फरक भएकोले त्यो मुद्दामा व्यक्त राय र पुनरवलोकन नगर्ने भनी गरेको आदेशले प्रतिनिधिसभा विघटनको मुद्दामा सम्बन्ध नराख्ने जिकिर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।