काठमाडाैं- कोरोना महामारीको कारण ‘काठमाडौं टिम च्याम्पियनसिप २०२१’ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) स्थगित भएको छ।
काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए)को आयोजनामा यही जेठ २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने भनिएको प्रतियोगिता स्थगित गरिएको हो।
एकेडेमीका सचिव दिपक थापाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको यो विषम परिस्थितिमा पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताएका छन्।
‘सरकारले निषेधाज्ञा जारी गरेदेखि नै एकेडेमीको प्रशिक्षणलगायत गतिविधि स्थगित गरिएको छ। परिस्थिति सहज भएपछि हामी प्रतियोगिता आयोजना गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।
ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यसहित गत पुसमा एकेडेमीको स्थापना भएको थियो। च्याम्पियनसिपमा पाँच स्पर्धा समावेश गरिएको थियो।
आमन्त्रण गरिएका १६ वटा कर्पोरेट हाउसका टिमले प्रतियोगिता खेल्ने जनाइएको थियो। जसलाई ४-४ टिमको समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइने लक्ष्य लिइएको थियो।
कुल आठ लाख रुपैयाँ पुरस्कार वरीयता प्राप्त खेलाडीको लागि छुट्याइएको थियो। सहभागी भएबापत नै उनीहरूले २० हजार पाउने जनाइएको थियो।
पुरुष र महिला खेलाडीले समान विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल पुग्नेले ३०–३० हजार पाउने जनाइएको छ। टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।