विवेकशील नेपाली अभियानका संस्थापक एवं अहिलेको विवेकशील साझा पार्टीका नेता उज्जवल थापा यतिबेला मेडिसिटी अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका छन्। उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमा बेलाबेलामा जारी गर्ने अपडेटबाट बुझिन्छ, यो संघर्ष असाध्यै कठोर बन्दै गइरहेको छ। उनको हँसिलो तस्वीर सामाजिक सञ्जालमा देखेपिच्छे म झस्किन्छु, कुनै अप्रिय खबर त आएन! तस्वीरसँगै लेखिएका सन्देश पढ्न मन डराउँछ। ह्याम्स, ग्राण्डी हुँदै मेडिसिटी अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था सुध्रिएको महसुस हुने खबर हामीले पढ्न पाएका छैनौं। बरु हरेक दिन निराश बनाउने अपडेट पढ्न विवश छौं।
भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि अवस्था नसुध्रिएपछि रगतबाट अक्सिजन दिने विधिमार्फत् उपचार जारी राखिएको र राम्रो प्रतिफल नआएको खबर सुनिरहँदा पनि उनी जुरुक्क उठ्नेछन् भन्ने आशाचाहिँ मनभित्र बलेकै छ। यस्तो महसुस मलाई मात्र होइन, उनका हजारौं शुभेच्छुकलाई पनि पक्कै भएको होला। जीवनसँग संघर्ष गरिरहँदा आफूप्रति उर्लिएको मायाबारे चाहिँ उनी बेखबर होलान्। जीवनमरणको यो युद्ध जितेर आफूले पाएको यो असीम माया उनले महसुस गर्न पाऊन्, हाम्रो यही कामना छ।
उज्जवलको उपचारमा अपनाइएको प्रविधि खर्चिलो भएकाले परिवारलाई आर्थिक संकट नहोस् भन्ने उद्देश्यले देशविदेशमा रहेका शुभेच्छुकले सहयोग अभियान सञ्चालन गरे। जसै उज्जवलको बिग्रँदो स्वास्थ्य अवस्थाबारे खबर बाहिर आयो, त्यो खबरले धेरैलाई दुःखी बनायो, सँगसँगै सहयोगका लागि जागरुक पनि।
करिब २४ घण्टामा देशविदेशबाट ५० लाख रुपैंया जम्मा भयो र सहयोग अभियान नै रोकिएको घोषणा गरियो। अघिल्लो निर्वाचनमा उनको पार्टीले पाएको भोटको हिसाब गर्ने हो भने उनी असाध्यै सानो पार्टीका नेता हुन्। उनी यतिबेला त्यही सानो पार्टीको नेतृत्वमा पनि छैनन्। बेलैमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पर्दा पछाडि बसेका उज्जवलले मतपत्र होइन, मनपत्र जितेको महसुस उनीप्रति यतिबेला उर्लिएको असिम माया, चासो, चिन्ता, शुभेच्छा र सहयोग रकम संकलनबाटै बुझिन्छ।
यो उज्जवलप्रति उर्लिएको माया मात्र होइन, असल राजनीतिप्रतिको सद्भाव पनि हो। धमिलिएको दिशाविहीन राजनीतिबाट नागरिक कति धेरै दिक्क भएछन् भन्ने सन्देश पनि हो यो। विवेकशील नेपाली दल साझा पार्टीमा मिसिँदा साझाका ठूला माछाहरुले विवकेशीलका साझा माछाहरुलाई सर्लक्कै निल्ने हुन् कि भन्ने पीर आम शुभेच्छुकमा थियो। भयो पनि त्यस्तै। मिसिएसँगै उनीहरु निकै अप्ठेरो चरणबाट गुज्रिए। सम्मान र शिष्टतापूर्वक फुटेर उस्तै भद्रतापूर्वक दुवै पार्टी जुटेका छन्। सानै रुपमा भएपनि सभ्य राजनीतिको उदाहरण बनेका छन्। पार्टी फुट्ने र जुट्ने दुवै प्रक्रियामा उज्जवल सदाबहार रुपमा शालिन देखिए। शिष्ट र सभ्य देखिए।
जसले राजनीतिबाटै विरक्तिएको पुस्तालाई राजनीति बुझाए
पछिल्लो समय समाचारको मूल प्रवाहबाट समेत छायाँमा थिए उनी। अचानक उनको बिग्रिएको स्वास्थ्यबारे खबर आयो। खबरसँगै अक्सिजन पाइप लगाइएको तस्वीरले मनमा भक्कानो छुटायो। उज्जवल सांसद होइनन्। मन्त्री होइनन्। देशै हल्लाउने चर्काचर्का भाषण गर्ने बडे वक्ता पनि होइनन्। जेलनेललाई नेपालमा राजनीति गर्ने सबैभन्दा ठूलो हतियार मानिन्छ। उनी जेलनेल खाएका व्यक्ति पनि होइनन्। बन्दुक बोकेका तुफानी लडाकु पनि होइनन्। अखबरमा राजनीतिक सिद्धान्तका ठूल्ठूला कुरा लेख्ने चिन्तकको छवि पनि बनेको छैन उनको। के गरे त उनले?
उनले राजनीतिको फोहोर तलाउमा ढुंगा हाने। त्यो ढुंगाले ल्याएको तरंगको अर्थ गहिरो छ। उज्जवलले शहरी युवापुस्तालाई राजनीति बुझाए। राजनीति सम्झाए। ‘आइ हेट पोलिटिक्स’ भन्न जानेको पुस्तालाई राजनीतिको मूलमार्ग के हो सिकाए। भोट हाल्नुको महत्व सिकाए। गलत ठाउँमा भोट हाल्दाको हैरानी के हुन्छ, सजिलोसँग बुझाए। नेपाल बन्द गरेर बहादुरी गरेको भन्ठान्ने सबै ठूला दललाई ‘नेपाल खुल्ला छ’ भन्ने सन्देश दिए। भ्रष्टाचार विरोधी अभियानको लहर चलाए। स्वास्थ्य र मेडिकल क्षेत्रका माफियाको मुटुमा ढ्यांग्रो ठोकेका गोविन्द केसीजस्ता सत्याग्रहीलाई सघाए। तथ्य, तर्क र तथ्यांकले विवेकशील दलले चुनौती दिइरह्यो। नेपाललाई बृद्धश्राम नबनाऔं भन्ने सन्देश दियो।
यो अभियानमा उनी एक्ला थिएनन्। उनलाई धेरैले मनमनै साथ दिए। थोरैले सँगै उभिएर, सँगै हिँडेर साथ दिए।
विवेकशील नेपाली दलको राजनीति गर्ने शैली नेपालको लागि नौलो थियो। उनीहरुले क्याम्पस अगाडि उभिएर ढुंगा हानेनन्। नेपाल बन्द गरेनन्। भित्ताभित्तामा कालो पोतेनन्। उनीहरुले सामाजिक सञ्जालको शक्तिलाई पहिल्याए र यसको भरपूर प्रयोग गरे। यसो गरेवापत उनीहरुले फेसबुके पार्टीको उपमा पनि पाए। माया गर्नेसँगै हियाउनेहरुको पनि कमी रहेन। तर, उनीहरु डराएनन्। २-४ जना मान्छे घाममा उभिएर चित्र र अक्षरको शक्तिमार्फत् मेडिकल माफिया, भ्रष्टाचारी, नेपाल बन्दकर्ता र अनेक ज्यादतीकर्ताको विरोध गरिरहे। विभिन्न रुप र स्वरुपमा भइरहेको राज्य आतंकको शिष्ट प्रतिवाद गरिरहे।
त्यो आवाज मलिन थियो। मान्छे थोरै थिए। तर, त्यो मौनताभित्र शक्ति थियो। काठमाडौंका चोकचोकमा अर्थपूर्ण चित्र, पेन्टिङ र प्लेकार्ड बोकेर उभिएका युवाहरुले ‘विवेकी युवा’को उपमा पाए। उनीहरुले उठाउने मुद्दा आम सर्वसाधारणको जीवनको जगसँगै जोडिएका थिए। उनीहरुको राजनीति शिष्ट राजनीतिको रुपमा अनुमोदित भयो। चुनाव चिन्ह देउताजस्तै बन्ने देशमा उनीहरुले छानेको हँसिलो अनुहार, कुकुर र तराजुले अड्कलिएको माया मात्र पायो। तर, त्यो माया कति गढेको रहेछ, अहिले उज्जवलप्रति बर्सिएको स्नेहबाट प्रष्ट हुन्छ।
कोरोना कहरसँग कष्टपूर्वक लडिरहेका विवेकशील साझाका नेता उज्जवलप्रति आम सर्वसाधारणबाट उर्लिएको स्नेह भावावेश मात्र होइन। यो स्नेहको गहिरो अर्थ छ। यतिबेला हामी नैतिकता, जवाफदेही, सिद्धान्त र आदर्श सबैथोक भुलेर दादागिरीमा रमाइरहेको राज्यसत्ताको लाचार साक्षी बनिरहेछौं।
यतिबेला नेकपा (एमाले)को सरकारले हामीलाई निर्वाचित तानाशाह कसरी बन्छ र निर्वाचित तानाशाह यस्तो हुन्छ भन्ने असाध्यै महंगो पाठ पढाइरहेको छ। सत्तापक्षसँग लुकिछिपी भागबण्डामा रमाइरहने प्रतिपक्ष कस्तो हुन्छ र उसले लोकतन्त्रलाई कसरी दिशाहीन बनाउँछ भन्ने पाठ नेपाली कांग्रेसले पढाइरहेको छ। विगतमा गर्न नहुनेजति सबै कामको रेकर्ड राखेर थाकिसकेका व्यक्तिलाई फेरि प्रधानमन्त्री बनाउन कांग्रेस एकढिक्का भएको छ। धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्रीको आवेदन दिने बेलामा पार्टीभित्रका लोकप्रिय र अहिलेसम्म प्रधानमन्त्री नबनेका व्यक्ति खोजेर एउटा सकारात्मक सन्देश दिने रहर कांग्रेसले गरेन। यस्तो आवाज उठ्दा पनि उठेन।
पुष्पकमल दहालको ‘फुटाउ र राज गर’ सिद्धान्त कहिल्यै फेरिनेवाला छैन। उनी हेर्दाहेर्दै फेरि ओलीमै बिलीन पनि हुन सक्छन्। माधव नेपाल समूहको पदलोलुपता र दिशाहीन राजनीति पनि बिर्सनलायक छ। उनीहरु चौतर्फी बार्गेनिङमा रमाइरहेछन्। जता बार्गेनिङ मिल्छ, त्यतै जोडिने यो समूहको दिशाहीनता पनि यतिबेलाको अराजक राजनीतिको प्रमुख कारक बनेको छ। पद नपाएपछिको उग्र राष्ट्रवाद र उद्दण्ड अभिव्यक्ति यो समूहका एक प्रखर नेताको ट्विट पढेरै बुझिन्छ।
एमाले कार्यकर्ताले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको घाँटी अठ्याएर मार्न खोज्दा राष्ट्रपति कार्यालय ‘भावनात्मक उत्तेजना’ भन्दै प्रतिरक्षामा ओर्लिएको अराजक समय हो यो। यति अराजक समयमा प्रधानमन्त्रीले दोस्रोपटक संसद् विघटनको निर्णय लिएका छन्। उक्त निर्णय रकेटको गतिमा पास भइसकेको छ। सबैका आँखा अदालततिर तानिएका छन्। कोभिड-१९ का कारण विश्वभर अहिलेसम्म ३५ लाख व्यक्तिले ज्यान गुमाइसकेका छन्। सन् २०२१ को सेप्टेम्बरसम्ममा ९० लाख व्यक्तिले ज्यान गुमाउने प्रक्षेपण इस्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनले गरेको छ (यहाँ हेर्नुहोस्)।
नेपाल यी सबै कुरा भुलेर रकेटको गतिमा बारम्बार संसद् विघटन गर्दै चुनाव गर्छु भनिरहेछ। पैसा तिरेर किनिसकेको खोप किन आएन, लेखिराख्नै परेन। परीक्षण घटाउँदै लगेर संक्रमितको संख्या कम देखाउने प्रयास भैरहेकै छ तर, हामीलाई डस्न नयाँ-नयाँ भेरियन्टको दुःख हुनेवाला छैन। कोरोनामात्र होइन, राजनीतिका नयाँ नयाँ ‘विषालु भेरियन्ट’ले हामीलाई अनन्त: डस्न खोज्नेछन्।
जनता डस्ने राजनीतिक भेरियन्टसँग जुध्ने एउटा शक्ति विवेकशील अभियान हो। साझा पार्टी त जनमनमा अझ राम्ररी बस्न सकेको छैन। साझा अभियानमा जोडिएकाहरु आ-आफ्नो कुण्ठाग्रस्त भारी बोकेर लाखापाखा लागिसके, तर विवकेशीलहरुको प्रतिबद्धता जस्ताको जस्तै छ। साझा त एउटा साझा पसलजस्तो थियो। त्यो पसलका पुराना साहुजीहरु नयाँ दोकान खोज्दै कताकता पुगिसके। कति चाहिँ दोकान चलेन भन्दै बिरक्तिएर हिँडे। विवेकशीलले बालेको झिल्को त उस्तै छ। वैकल्पिक राजनीतिको जग विवेकशीलहरुले नै हालेका हुन्। उज्जवलहरुले नै हालेका हुन्। साझा मिसिएपछि बाटो अलिकति फराक बनेको मात्र हो। आशा जगाउने राजनीतिको मूल भंगालो त विवेकशील नै हो।
शहरी नयाँ पुस्तालाई राजनीतिप्रति चासो, चिन्ता र चिन्तन गर्न सिकाउने, मतदाता नामावलीमा नाम खोज्न सिकाउने, ढुंगामुढाको राजनीतिलाई रचनात्मक राजनीतिको बिम्ब सिकाउने उज्जवल थापा दादागिरीको राजनीति गरिरहेकाहरुका लागि खुला चुनौती हुन्। उज्जवल र उनका सहयात्रीले जगाएको उत्तरदायी राजनीतिप्रतिको आस्था, विश्वास र भरोसाको बिम्ब हो उनीप्रतिको असीम स्नेह। उज्जवलको स्वास्थ्यलाभको कामना! उनी उठ्न सकून्। परिवर्तन देखेरै मर्ने उनको ईच्छालाई कोरोनाले चुँड्न नसकोस्। हृदयभरिको कामना!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।