काठमाडाैं- सरकारले आगामी साउन १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा पूर्णप्रतिबन्ध लगाएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् उक्त घोषणा गरेको सरकारले यसको कार्यान्वयन प्रक्रियासमेत थालेको छ।
सोमबार वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै आगामी साउन १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
मन्त्रालयले सपिङ मल तथा डिपार्टमेन्टल स्टोरलगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको भन्दै सोहीअनुसार तयारी गर्न अपिल गरेको छ।
'४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्थासमेत आव ०७८/७९ को बजेट वक्तव्यमा उल्लेख गरिएको हुँदा सोही बमोजिम गर्न गराउनुहुन सबैमा अनुरोध छ,' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।