रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर-१ दुरागाउँ कटिको दलित बस्तीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएपछि बस्तिमा सन्त्रास छाएको छ। केही दिन अघि उक्त बस्तीका रामबहादुर र कृष्णबहादुर बर्मा साकाको मृत्यु भएको थियो।
दुई जनाको मृत्यु भएपछि गाउँलेमा त्रास छाएपछि नेकपा एमाले रामेछाप जिल्ला कमिटीको पहलमा लिखु तामाकोसी गाउँपालिकाले उक्त गाउँमा एन्टिजेन कीटबाट स्वाव परीक्षण गरेको छ। एक सय जना भन्दा धेरैमा गरिएको परीक्षणमा दुईजनामा कोरोना पोजिटिभ देखिएको छ। डाक्टर सुजन कडरियाको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले दुरागाउँमा परीक्षण गरेको थियो।
गाउँपालिका अध्यक्ष गोविन्द खड्का र एमाले जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले गाउँका जनतालाई नडराउँन र स्वास्थ्य मापदण्ड पालन गर्दै सुरक्षित रहन आग्रह गरे।
कुनै पनि स्वास्थ समस्या परेमा र औषधिहरु नपाएमा गाउँपालिका वा जिल्ला कमिटीमा सम्पर्क गर्न उनीहरुले अनुरोध गरे। सम्भावित सङ्क्रमण रोक्न र आइसोलेसनको व्यवस्थापन गर्न स्थानीय बासिन्दा र स्वास्थ्य चौकीका प्रतिनिधीबीच कुराकानी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।