काठमाडौं- देश अहिले कोभिड-१९ को महामारीले आक्रान्त छ। समाजका धेरै क्षेत्रका व्यक्ति कोरोनासँग जुधिरहेका छन्। यसैमध्ये कलाकारहरु पनि कोरोना प्रभावित भए। कति कलाकारले कोरोनासँगको लडाइँ हारे। कति लडिरहेका छन्। र, कतिले यसलाई परास्त गरिसकेका छन्।
कलाकार मदनकृष्ण श्रेष्ठले कोभिड त जिते तर, त्यसपछि देखिने समस्यासँग लडिरहेका छन्। उनी निकै कमजोर बनेका छन्। रक्तचापमा पनि घटबढ भइरहन्छ।
अर्का हाँस्य कलाकार शिवहरी पौडेल पनि कोभिडबाट उम्कन सकेका छैनन्। उनी अस्पतालमा अक्सिजनको सहारामा छन्। यद्यपि, अवस्था खतरामुक्त छ। त्यस्तै, कुनै समयका चर्चित नायक कृष्ण मल्लको सपरिवारले कोरोना जितेको छ। सिनेम्याटोग्राफर विष्णु कल्पित पनि कोरोनासंक्रमण मुक्त भएका छन्।
गहना, परिचयजस्ता टेलिसिरियलबाट चर्चा कमाएकी कलाकार सरिता लामिछानेको सपरिवार पनि कोभिडको मारमा परे। उनका श्रीमान निर्देशक ऋषि लामिछाने र छोरी मात्रै हैन, उनीहरुसँगै बस्दै आएकी सरिताकी भतिजी समेत कोभिडबाट अछुतो रहन सकिनन्।
अहिले यी चारै जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ। यद्यपि, उनीहरुको स्वास्थ्य अवस्था भने कमजोर नै छ। सरिताका श्रीमान ऋषि अझै अस्पतालमै छन् भने अन्यको स्वास्थ्य पनि तन्दुरुस्त बनिसकेको छैन।
कोभिडसँग जुध्दाको अनुभव सरिताकै शब्दमा :
मैले १६ दिनसम्म जस्तो जिन्दगी बिताएँ, त्यो कसैले भोग्न नपरोस्। यी अत्यन्तै पीडादायी दिनहरु थिए। यसलाई म शब्दमा बयान गर्नै सक्दिनँ। अहिले पनि सास फेर्न समस्या हुने भइरहेको छ।
जीवनमा ४० वर्ष बिताउँदा सबैभन्दा पीडादायी क्षण यही दिनहरु भए। हामी आफूलाई पर्दा मात्रै सचेत बन्दा रहेछौं। नत्र हेलचक्र्याइँ गर्दा रहेछौं।
हामीसँग सम्पति होला, नामको चर्चा पनि होला तर, जिन्दगी शून्य हो, सधैं सकारात्मक हुनुपर्छ भन्ने मान्छे हो म। तर, यो कोभिडले जिन्दगीलाई अझै बुझाइदियो।
जिन्दगीमा सबैथोक छ तर एक्लै हुन्छ। नजिकका मान्छेहरुले गेट वेल सुन भन्छन्, हामी छौं भन्छन् तर भोग्ने त एक्लैले हो।
मेरा श्रीमान ऋषिजीको एक्सरे रिपोर्ट त सामान्य नै आएको थियो तर, सिटिस्क्यान गर्दा डरलाग्दो देखियो। उनलाई सिभियर निमोनिया भइसकेको रहेछ। डाक्टरले तुरुन्तै अस्पताल भर्ना गर्न भने। मैले रातको ८ बजेदेखि अस्पताल खोज्न थालें तर अहँ, कसैले दिएनन्। सबै अस्पतालले सास फेरिरहेको छ, केही समस्या छैन भनेर रिजेक्ट गरिदिए।
बाहिर त सास फेरिरहेको देखिन्थ्यो तर, भित्र समस्या थियो। ऋषिजी निकै होपलेस भइसकेका थिए। म उनको अगाडि नआत्तिनु म छु भन्थें तर, एक्लै रुन्थें। तरपनि, मैले ऋषिजीलाई आँशु देखाइनँ। बल्ल भोलिपल्ट बिहान ११ बजे ग्राण्डी अस्पतालले बेड दियो।
मैले भोगें। मलाई पर्यो। कतिले आफन्त गुमाएका छन्, उनीहरुको अगाडि मेरो पीडा कम लाग्नसक्छ। तर, मैले भोगेका समस्या पनि कम पीडादायी छैनन्।
श्रीमानलाई अस्पताल भर्ना गरेपछि भेट्न नपाइने रहेछ। म आफै संक्रमित थिएँ। श्रीमानलाई एक्लै छाड्दा झनै पीडा भयो। रिंगाटा लाग्दालाग्दै बल्लतल्ल गाडीमा पुगें। र, १५ मिनेर घोप्टो परेर रोएँ। भोलि के हुन्छ थाहा छैन। श्रीमानसँग भेट होला कि नहोला भन्ने डर लाग्यो।
दु:खाई एकातिर छ, मान्छे हतास हुँदोरहेछ। अहिले कोभिड त जितें तर, अझै म अब सुरक्षित छु भन्ने भान भएको छैन। जिन्दगी हो, जे पनि हुनसक्छ।
जब समस्यामा परिन्छ तब जीवन प्यारो लाग्दोरहेछ। अझै यस्तो समयमा न सोर्सफोर्स, न भनसुन, न सम्पत्ति कुनै कुराले काम गर्दैनरहेछ। जे पर्छ, एक्लो भोग्ने हो। त्यसैले कसैले खेलाँची नगर्नुहोला। कोरोनालाई खेलाँची नठान्नुहोला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।