काठमाडौं– नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलिन थालेपछि बिपी सग्रहालयले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र ओखरेनीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने भएको छ।
गोकर्णेश्वर नगरपालिका–१ का यी दुई गाउँमा अक्सिजनसहितको स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न लागिएको संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए।
काठमाडौँ उपत्यकाको दुर्गम बस्तीमा पर्ने यी गाउँमा कोरोनाका बिरामी बढ्न थालेपछि प्रारम्भिकरूपमा स्वास्थ्य जाँचसहित अक्सिजन सेवा दिन उपचार केन्द्र स्थापना गर्न लागिएको हो। केन्द्रमा सुन्दरीजल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिने जनाइएको छ।
केन्द्रमा आवश्यकतानुसार विशेषज्ञ स्वास्थ्य सेवासमेत उपलब्ध गराइने संग्रहालयले जनाएको छ। बिरामीलाई थप उपचार आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासहित सुविधासम्पन्न अस्पतालमा लगिनेछ।
होम आइसोलेशनमा बसेका बिरामीलाई समेत अस्पताल जान आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ। कोरोना र अन्य रोगका लागि अक्सिजन सेवा आवश्यक पर्ने बिरामीले अक्सिजन नपाए निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।