काठमाडाैं- सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड विनियोजन गरेकाे जानकारी दिएका हुन्।
मन्त्रालयका आगामी आवका लागि बजेटमा केही बढोत्तरी भएको छ। चालु आवमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो।
चालु आव र आगामी आवकाे तुलना गर्ने हाे भने मन्त्रालयको बजेट ३८ करोड रुपैयाँ थप भएको छ। नवौं राष्ट्रिय खेलकुद हुने कार्यक्रम रहेकोले पनि बजेटमा केही बढोत्तरी भएको हाे।
यसपटक पनि भौतिक पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र प्रशिक्षण, गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ।
आगामी आवमा झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्ष भित्रै निर्माण सम्पन्न गरी सञ्चालन गरिने अर्थमन्त्री पाैडेलले जानकारी दिए।
यस्तै, आगामी आवमा पोखरा रंगशाला निर्माण कार्य सम्पन्न गरिनेछ। यता, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, मोरङको बैजनाथपुर, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
यस्तै, धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, विरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाइनेछ। त्यस्तै हरेक स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिनेछ।
सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माण गर्न रकम छुट्टयाइएको छ। खेलकुद विद्यालयको सम्भाव्यताबारे पनि अध्ययन गरिनेछ।
यस्तै, नेपालको अन्तर्राष्ट्रिय सहभागिता बढाउने र सम्भावना बोकेको खेललाई प्रोत्साहन गरिने छ।
यता, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको अर्थमन्त्री पाैडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।