काठमाडाैं- नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्याण्ड्सको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ। नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो।
सौरभ राईको निर्देशनमा बन्न लागेको यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो। आइसफल प्रमुख रामकृष्ण पोखरेलका अनुसार ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई समेत सो अवसरमा फन्ड उपलब्ध गराएको थियो।
पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपाली भाषी सौरभको यो दोस्रो फिचर फिल्म हो। यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो।
फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ। आइसफलले यसअघि निर्माण गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।