काठमाडौं– कोभिड–१९ संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिएपछि त्यसको नियन्त्रणका लागि भन्दै वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। तर संक्रमण दरमा कमी नआएपछि विभिन्न चरणमा निषेधाज्ञा थप भइरहेको छ। उपत्यकामा निषेधाज्ञा जारी गरिएको बुधबार २८ दिन पुगेको छ।
निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्यामा कमी नआएको भन्दै मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारहिरुको बैठकले थप कडाइ गर्दै निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरे।
शुक्रबार विहान १ बजेदेखि थप एक साताका लागि निषेधाज्ञा थपिएको छ।
थपिएको निषेधाज्ञाको अवधिमा यसअघि खोल्न दिइएका किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु बन्द हुने निर्णय गरिएको छ। दैनिक दाल चामल किन्ने बहानामा भीडभाड हुने गरेको प्रशासनको ठहरअनुसार एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरिएको बताइएको छ। बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।