काठमाडौं- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) टोकियो ओलम्पिक निर्धारित समयमै हुने जनाएको छ।
प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा जापानमा कोरोना महामारीका कारण ओलम्पिकको विरोध हुँदै आएको छ।
जापानका धेरै ठाउँमा कोरोना नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ। जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र संक्रमित भएकाहरुको संख्या बृद्धि हुँदै आएको छ। जापानका जनताहरुले यस्तो अवस्थामा ओलम्पिक सुरु गर्न नहुने बताउँदै आएका छन्।
यद्यपि, आईओसीका प्रमुख थोमस बाकले शनिबार ओलम्पिक पूर्वनिर्धारित समयमै हुने बताए।
अघिल्लो बर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक बर्ष पछाडि सारिएको थियो । प्रतियोगिता एक बर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेपनि प्रतियोगिता सञ्चालन गर्नेगरी अहिले तयारी भइरहेको हो ।
उनले भने,‘टोकियो ओलम्पिकको सुरूवात गर्न धेरै समय बाँकी छ। यद्यपि, काउन्टडाउन सुरु भइसकेको छ।’
आईओसीले प्रतियोगिता सुरक्षित गर्न सक्षम हुनेछ भन्ने विश्वास बाकले व्यक्त गरे।
उनले भने, ‘सुरक्षा हामी सबैको लागि प्रमुख प्राथमिकता हो। जापानका हाम्रा सहकर्मीहरूसँग सुरक्षित वातावरणमा प्रतिस्पर्धा गर्ने सुनिश्चित गरिसक्यौं।’
यता, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले पनि जापानमा सङ्कटकाल लागु भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।