काठमाडौं- कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेमाथि गोली हानेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
कपिलवस्तु नगरपालिका-३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट दीपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बुधबार राति घाइते भएका थिए।
लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएका थिए।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते ईयाजलाई उपचारका लागि लागि जिल्ला अस्पताल तौलिहवा र दीपकलाई भैरहवा मेडिकल कलेज पठाएको थियो। उनीहरुको उपचार भइरहेको छ।
घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको थियो। उक्त घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका-१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार :
कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।