काठमाडाैं- नेपालको सेयर बजारमा पुन: नयाँ रेकर्ड बनेको छ। बुधबार हालसम्मकै धेरै ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार हुँदा नयाँ रेकर्ड बनेको हो।
यसअघि मंगलबार (हिजो) ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबारसहित उच्च कारोबारको रेकर्ड बनेको थियो।
करोबार रकम बढे पनि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने घटेको छ। मंगलबार नेप्से परिसूचक पनि उच्च विन्दुमा पुगेर रेकर्ड कायम भएको थियो।
बुधबार (आज) नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०८ अंकले घटेर ४९६.१५ विन्दुमा कायम भएको छ।
आज २१४ वटा कम्पनीका दुई करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर एक लाख ३२ हजार ३६९ पटक खरिद-बिक्री भएका थिए।
आज समता घरेलु लघुवित्त संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.९९ प्रतिशतका दरले कमाएका छन्। ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ६.८८ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ५५ करोड ६९ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडका १४ लाख ६६ हजार ३३ कित्ता सेयर किनबेच भएका थिए। नेसनल हाइड्रो पावरकै सेयर सबैभन्दा बढी पाँच हजार ८०८ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूहका परिसूचक बढ्दा बाँकी सबै समूह घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।