काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलमा राजेन्द्र महतो चयन भएको बारे संसद सचिवालयलाई जानकारी गराइएको छ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले पत्रमार्फत महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी गराएका हुन्।
वैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई नेता चयन गरेको ठाकुरले जानकारी दिएका छन्।
यद्यपि जसपाको बाबुराम–उपेन्द्र पक्षले भने महतो संसदीय दलको नेता चयन भएको विषयलाई अस्वीकार गर्दै आएको छ।
बाबुराम–उपेन्द्र पक्षले केही दिन अगाडि एउटा विज्ञप्ती जारी गर्दै संसदीय दलको विधानको समेत टुंगो लागिनसकेको अवस्थामा संसदीय दलको नेता चयन भइसकेको विषय अमान्य हुने जनाएको थियो।
बाबुराम–उपेन्द्र पक्षका नेता नवराज सुवेदीले संसदीय दलको नेता चयनको सन्दर्भमा निर्णय नै हुन बाँकी रहेको बताए ।
'महतो जीलाई दलको नेता बनाउने भएपछि उपेन्द्र यादवको पनि हस्ताक्षर हुन्थ्यो, त्यसमा सहमति भएको छैन,' नेता सुवेदीले भने, 'अब बस्ने कार्यकारिणी समितिमा छ्लफल हुन्छ । त्यहीँवाट निर्णय भएर दलको नेता चुनिनु हुन्छ ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।